किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ।
जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन्। पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति, विसंगति हटाउन उनले चलाएको अभियान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन्।
किरात धर्मगुरु फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए। सरकारले उनलाई २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो।