नेपालको शान्ति प्रकृयामा पद्मरत्न तुलाधरले समन्वयकारी भूमिका निर्बाह गरेको भन्दै उनको योगदानको राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले प्रशंसा गरेका छन्।
नेपाल शान्ति प्रतिष्ठानद्धारा प्रतिष्ठानका संस्थापक समेत रहेका तुलाधरको स्मृतिमा आइतबार राजधानीमा आयोजित शोकसभामा बोल्दै उनीहरुले शान्ति प्रकृयाको सुरुवात, निरन्तरता र निष्कर्षका विभिन्न चरणका अप्ठ्यारा परिस्थितिमा तुलाधरले समन्वयकारी भूमिका खेलेको स्मरण गर्दै उनले देखाएको इमान्दारिता र सरलपनको अनुशरण गर्नु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे।
शोक सभामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कुनै किसिमको व्यक्तिगत आकाँक्षा नराख्ने नेता भएकोले तुलाधर सबैको अभिभावक बन्न सकेको बताए।
सभामा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी, गगन थापा, नेकपाका नेता भीम रावल, लिलामणि पोखरेल, सुरेश आले, खिमलाल देवकोटा, शशी श्रेष्ठ र राजपाका मनिस सुमन लगायत नेताहरूले तुलाधरको योगदानको चर्चा गरेका थिए।
तुलाधरसँग शान्ति प्रकृयामा सहजीकरण गरेका पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व निर्वाचन आयुक्त वीरेन्द्र प्रसाद मिश्र र प्रतिष्ठानका अध्यक्ष विद्याधर मल्लिक लगायतले तुलाधरको योगदानको चर्चा गरेका थिए।
नेपालको शान्ति प्रकृयाका सहजकर्ता, मानवाधिकार अन्दोलनका अग्रणी व्यक्तित्व तुलाधरको कात्तिक १८ गते ७८ बर्षको उमेरमा निधन भएको थियो।