नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अाएका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूबीच छलफल भएको छ।
केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा सोमबार बिहान नेतृ कोइरालाकै सक्रियतामा पौडेल समूहका शीर्ष नेताहरू एकै ठाउँमा भेला भएर छलफल गरेका हुन्। नेतृ सुजाताको अामन्त्रणमा पाैडेल समूहका शीर्ष नेताहरूलाई लञ्चसहितकाे मिटिङ गरिएकाे एक नेताले बातए।
लञ्चसहितको बैठकमा पौडेल समूहमा रहेका नेताहरू पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा. शेखर कोइराला र केन्द्रीय सदस्य गुरूराज घिमिरे सहभागी थिए। बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकाे बैठकमा सहभागी एक नेताले बताए।
पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समूहका नेताहरूलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापति भन्दा इतर समूहका नेताहरू एकत्रित भएका हुन्। यसअघि नेपाल विद्यार्थी संघको उमेर हद तोक्नेबारे निर्णय लिँदा पौडेल समूहका शीर्ष नेताहरूले नोटआफ डिसेन्ट लेखेका थिए। त्यतिबेला उनीहरूले थप छलफल गरेरमात्रै उमेर हदबारे निर्णय लिनु पर्ने र आफ्नो समूहमा छलफल गर्नु पर्ने भएकाले समय मागेपनि सभापति देउवाले अस्वीकार गर्दै बहुमतबाट निर्णय गराएका थिए।
पछिल्लो पटक विजय कुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय गर्दा प्रक्रिया नमिलेको भन्दै पौडेल समूहले आपत्ति जनाएको थियो। विधान संशोधन गरेरमात्रै उपसभापति मनोनीत गर्दा राम्रो हुने तर्क पौडेल समूहको थियो। तर, राजनीतिक निर्णय भन्दै गच्छदारलाई कात्तिक २० मा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा मनोनीत गरेको थियो।
गच्छदारलाई उपसभापति मनोनीत गरेपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै नेतृ कोइरालाले पनि सभापति देउवाले आफूहरूसँग छलफल नै नगरी मनोनीत गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। नेतृ कोइरालाले सभापति देउवाले कुनै पनि निर्णय गर्दा आफूहरूलाई बाइपास गर्ने गरेकोमा आपत्ति जनाएकी थिइन्।
बैठकमा महासमिति बैठक, पार्टीको विधान संशोधन, पदाधिकारीको संख्या बढाउने वा नबढाउने, नेविसंघ महाधिवेशन लगायतका विषयमा छलफल भएको एक नेताले बताए।