कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न सभागृह बनाउन थालिएको छ। सङ्घीय आयोजना कार्यान्वयन एकाइले वीरेन्द्रनगर–६ स्थित आँखा अस्पताल नजिकको ४० रोपनी जग्गामा सभाहलको योजना अघि बढाएको हो। सभागृह नहुँदा आयोजकलाई खुला मैदान, चोक–चौतारा, होटलमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।
समानान्तर–चक्रेश्वरी–शिवशक्ति–जेभी नया“बानेश्वर काठमाडौँले गत वर्ष चैतदेखि निर्माण थालेको हो । विसं ०७६ चैतमा सम्पन्न गर्नुपर्ने यस आयोजनाको लागत २० करोड ५४ लाख रुपैयाँ छ। प्राविधिकका अनुसार आयोजनाको २५ प्रतिशत बढी काम पूरा भइसकेको छ। पर्खाल निर्माण, दुई ब्लकको ढलान सम्पन्न भइसकेको छ। सो गृहको चर्चा लामो समयदेखि हुँदै आए पनि गत वर्ष शहरी विकास मन्त्रालयले पहिलो किस्तावापत रु पाँच लाख निकासा गरेपछि निर्माणको बाटो खुलेको हो।
एकाइका इञ्जिनीयर कमल दर्लामीले दीर्घकालीन आवश्यकतालाई मध्यनजर गरेर सभागृहको निर्माण थालिएको बताए। उनका अनुसार चार ब्लकमध्ये ७५५ जना अट्ने दुई बेग्लाबेग्लै भवन निर्माण गर्न लागिएको छ। ध्वनि, विद्युत प्रणाली, कार्यालय भवनलगायत आवश्यक सबै संरचनाको इञ्जिनीयरिङ ढाँचा तयार भइसकेको छ। सो गृह निर्माणलाई नगरपालिकाले सुर्खेतकै गौरवको आयोजनाका रुपमा लिएको छ। वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदीले सभागृह निर्माण हुनु नगरको पूर्वाधार विकासका लागि महत्वपूर्ण भएको बताए।
'क्षेत्रीय सदरमुकाम हुँदा पनि ठूला कार्यक्रम आयोजना गर्न समस्या थियो, अहिले प्रदेश राजधानी बन्यो,'उनले भने,'अब त झन सार्वजनिक सभागृह जरुरी भइसकेको छ।' यो गृह बनेपछि कम खर्चमा सहज व्यवस्थापनसाथ कार्यक्रम आयोजना गर्न सकिनेछ।