सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ।
विधानअनुसार ३ महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन। यही अल्झनले दुई कम्युनिस्ट पार्टीबीच ३ जेठमा भएको एकता प्रक्रियाले तल्लो तहसम्म पूर्णता पाउन सकेको छैन। केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकता र सरकारको प्रभावकारिताका विषयमा नेताहरूबीच मतैक्य हुन सकेको छैन।
‘पार्टी संगठनको काम भद्रगोल छ, सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन। यस्तो बेला पार्टी बैठक बस्न नसक्दा अन्योल झन् बढेको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तत्काल बैठक बोलाउन, तल्लो तहसम्म एकता टुंग्याउन र सरकारको काम प्रभावकारी बनाएर लैजान हामीले शीर्ष नेताहरूको ध्यानाकर्षण गराउन थालेका छौं।’
स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर), योगेश भट्टराई, पौडेललगायत नेता संगठित रूपमै दबाब अभियानमा लागेका छन्। उनीहरूले सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, श्रममन्त्रीसमेत रहेका गोकर्ण विष्ट, परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलगायत नेतासँग पनि शीर्ष नेतृत्वमाथि दबाब बढाउने विषयमा औपचारिक÷अनौपचारिक छलफल गरिसकेका छन्। अन्पूर्ण पाेस्ट दैनिकमा खबर छ।