राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन्।
राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेका हुन्। एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले नमानेको राणाले बताए।
रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा राणाले कमल थापाको तातै खाउँ जल्दै मरौँ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए।
तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए। एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए।
कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए। ‘तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ। नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिँदैन। गाईलाई चुनाव चिन्ह मान्न म सक्दिनँ,’उनले भने।
एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए। धर्म निरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए। तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको राणाको भनाइ थियो।