मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन्। संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ। त्यो पनि सरकारी। त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गरिदिएको छ।
त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन्। तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन्।
भैसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो। यसको स्वामित्व सहरी विकास मन्त्रालयमा छ। मकवानपुरबाट वितमा लोकप्रियता हासिल गरेका उनी हेटौंडामै प्रादेशिक राजधानी स्थायी बनाउने जोडबलमा लागेका छन्। काठमाडौंमा प्राविधिक राखेर योजना बनाउन लगाउनुको कारणबारे भने ‘हेटौंमा बसेर गर्न असहज भएर।’
सरकारी निवासको दोहोरो सुविधालाई उनी अन्यथा ठान्दैनन्। ‘सरकारले दिएको निवास प्रयोग गर्दा के आपत्ति भयो ? ’ उनले भने, ‘एसिया फाउन्डेसनले योजनामा प्राविधिक सहयोग गरेको हो। उसले सहकार्य गर्न चाहेकाले गरिएको हो।’
घरको माथिल्लो तलामा मुख्यमन्त्री पौडेल काठमाडौं आएका बेला वस्छन्। दोश्रो तलामा प्रदेशको नीति तथा योजना आयोग अन्र्तगतका प्राविधिक कर्मचारीहरु बसेर काम गर्छन्। भुइँ तला प्रदेश कृषिमन्त्री दावा लामालाई छुट्टयाइएको छ। लामा काठमाडौं आएका वेला त्यहाँ बस्छन्।
‘मुख्यमन्त्रीलाई सरकारले उपलब्ध गराएको भवन हो त्यो। उहाँ (मुख्यमन्त्री) ले पुच्छरको तलामा काठमाडौ जादा तपाई बस्नुहोस भनेर मलाई कोठा उपलब्ध गराउनुभएको छ, म त्यहीं बस्छु,’ प्रदेश कृषिमन्त्री लामाले भने। मुख्यमन्त्रीले भवनमा प्रयोगमा आएका भौतिक संरचनामा विदेशी साहायता लिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।