प्रदेश ५ मा तीनवटा महानगरपालिका बनाउने तयारी सुरु भएको छ। सरकारले प्रदेशका मुख्य तीन सहरलाई केन्द्रित गरी महानगर बनाउन कानुन निर्माणको प्रक्रिया सुरु गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास प्राधिकरण बनाउन आवश्यक कानुन बनाउने प्रक्रियासमेत अगाडि बढाएको छ। प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्राधिकरण स्थापनाका लागि ऐनको तयारी भएको बताए। महानगर बनाउँदा विभिन्न स्थानीय तहहरूलाई गाभ्नुपर्ने भएकाले समन्वय गरेर अगाडि बढ्ने तयारी छ।
प्रदेश सरकारले प्रमुख आर्थिक केन्द्रका रूपमा तीन स्थानलाई विकास गर्ने गरी महानगरको अवधारणा अघि सारेको छ। चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले रुपन्देही, बाँके र दाङमा एक-एकवटा महानगर बनाउने घोषणा गरेको थियो। सरकारले भैरहवा–बुटवल, नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुर क्षेत्रमा एकीकृत सहरी विकास कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।
महानगरको प्रारूप कस्तो हुने भन्ने विषयमा सरकारले अध्ययन गर्ने तयारी गरेको छ। विकास प्राधिकरणमार्फत महानगर बनाउन कानुनी आधार चाहिने भएकाले ऐन बनाउने प्रक्रिया अगाडि बढाइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीको भनाइ छ।
मन्त्री चौधरीले तीनवटा मेगासिटीका रूपमा विकास गरी महानगर बनाउने बताए। उनले भोलिको महानगर कस्तो रहने भनेर अध्ययन गर्ने तयारी भएको बताए। सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत योजना बनाएर काम अगाडि बढाउने उनको भनाइ छ। महानगर बनाउँदा तीनवटै तहका सरकारबीच द्वन्द्व नहुने गरी काम गरिने बताए। नयाँ पत्रिका दैनिकमा खबर छ।