नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँदै नै पेश हुने भएकाे छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्षपेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने बताए।
इपिजीका एकजना सदस्य प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त तथा अर्का सदस्य भारतका लागि राजदूतमा सिफारिश भएपछि इपिजीको प्रतिवेदन त्यतिकै थन्केलाकी भन्ने आशंकालाई चिर्दै मन्त्री ज्ञवालीले प्रतिवेदनको प्रतिरक्षा गरेका हुन् ।
बुधबार आफ्नै मन्त्रालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्रीको व्यस्तताका कारण प्रतिवेदन पेश गर्न विलम्ब भएको बताए ।
श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट वार्ताको माध्यमबाट समाधान हुनुपर्ने नेपालको अभिमत प्रकट गर्दै मन्त्री ज्ञवालीले त्यहाँ विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताए ।
साथै उनले प्रजातान्त्रीकरणको प्रक्रियातर्फ उन्मुख भुटानले दशकौंदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका करिब छ हजार ९ सय आफ्ना नागरिकलाई ससम्मान स्वदेश फर्काउने विश्वास व्यक्त गरे ।