नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले गत निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको सबैले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आत्मालोचना गरी एक साताका लागि स्वनिलम्बनको घोषणा गरेका छन्।
उनको यो घोषणापछि आगामी आइतबारदेखि एक सातासम्मका लागि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख समेत रहेकी कांगेस नेतृ शान्ति कार्कीले पर्सा कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा सम्हाल्नेछिन्।
पर्सामा आज आयोजित एक कार्यक्रममा सभापति द्विवेदीले गत चुनावमा कांग्रेसको हारको नैतिक जिम्मेवारी सबैले लिनुपर्ने बताए। उनले हरेकले आफूबाट भएको गल्तीप्रति आत्मालोचना गर्दै आगामी दिनमा पार्टीलाई एकढिक्का बनाउने गरी काम गर्नुपर्ने उल्लेख गरे।
सभापति द्विवेदीले गरेको स्वनिलम्बनको घोषणालाई पर्सा कांग्रेसका नेताहरुले स्वागत गरेका छन्। कांग्रेस नेता पूर्व सांसद अनिल रुङ्गटाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। उनले सबैले आ–आफ्नो क्षेत्रबाट यसैगरी नैतिकताको जिम्मेवारी लिएर पार्टी सुदृढीकरणमा लाग्नुपर्ने उल्लेख गरे।
अर्का नेता एवं पूर्व सांसद राजेन्द्रबहादुर अमात्यले असल कामको शुरुवात भएको प्रतिकृया दिए।