सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा बन्द गरेको भन्दै शनिबारदेखि उद्योग बन्द गरेर बसेका उद्योगी र सरकारबीच आइतबार वार्ता भएको छ ।वार्ता सकारात्मक भएको वार्तामा सहभागी उद्योगीहरुले बताएका छन्।
अर्थमन्त्री डा युवराज खतिवडाले कपडा उद्योगका समस्या समाधान गर्न १० दिनको समय माग गरे।भ्याट फिर्ता लगायतका समस्या सम्बोधन गर्न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने भएकाले अर्थमन्त्रीले १० दिनको समय माग गरेको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल महर्जनले बताए।
भ्याट फिर्ता बराबरको रकम नगद अनुदान उपलब्ध गराउनुपर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने, पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु अघि सार्दै उद्योगीहरुले शनिबारदेखि देशभरका कपडा उद्योग बन्द गरेका हुन्।
अहिले देशभर रहेका दुई सय ५० वटै कपडा उद्योग बन्द छन्। उद्योगहरु बन्द हुँदा ५० हजार कामदार बेरोजगार बनेका छन् ।