नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिनाका लागि थप गरिएको छ।
कांग्रेस मुख्यालय सानेपामा आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना थप गर्ने निर्णय गरेको हो।
म्याद थपको प्रस्ताव सभापति शेरबहादुर देउवाले राखेका थिए। सो निर्णयलाई बहुमतले पारित गरेको हो। सो निर्णयप्रति नेता पौडेल,अर्जुननरसिंह केसी लगायतले असहमति जनाएका छन्। नेता रामचन्द्र पौडेलले थपिएको दुई महिनामा पनि संघको महाधिवेशन सम्भव नरहेको जिकिर गरेका छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले महाधिवेशन सुनिश्चित गर्नेगरी संघको म्याद थप गर्नुपर्ने तर्क गरेका थिए। सिटौलाले महाधिवेशनका लागि वर्तमान समितिको म्याद छ महिना थप्न प्रस्ताब गरेका थिए।
उमेर हदलगायत आन्तरिक विवादका कारण नेवि संघले दुई वर्षमा महाधिवेशन गर्न नसकेपछि यसअघि तीन महिना म्याद दिइएको थियो। थप गरिएको तीन महिना समय आइतबार सकिँदै गर्दा म्याद थप गरिएको हो । कार्यसमिति अवधि भदौ २ मा सकिएपछि तीन महिना थपिदिएको थियो ।