गण्डकी प्रदेश सरकारका ५ सचिव अहिले देशबाहिर छन् । तीमध्ये ३ जना चीन भ्रमणमा छन् । प्रमुख सचिव लक्ष्मीराम पौडेल, मन्त्रिपरिषदको कार्यालयका सचिव धर्मराज कुइँकेल र पर्यटन मन्त्रालयका सचिव विष्णु ढुंगाना चीनको सयरमा छन् ।
विदेश भ्रमणका रहेका अर्का सचिव हुन् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शरदचन्द्र श्रेष्ठ । उनीचाहिँ कृषिसम्बन्धी कार्यक्रमका लागि श्रीलंका गएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपाने पनि देशबाहिरै छन् तर उनी भने पारिवारिक सदस्यको उपचारका लागि बिदामा गएका हुन् ।
प्रमुख सचिव लक्ष्मीराम पौडेलले ३० कात्तिकदेखि ६ मंसिरसम्म चीनको हाइनान प्रान्तमा आयोजित मन्त्रालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिसम्बन्धी सेमिनारमा भाग लिइरहेका छन् । उनको भ्रमण कात्तिक २५ को मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
गण्डकी प्रदेशमा ७ मन्त्रालय छन् । आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालयका ३ सचिव र मन्त्रिपरिषद कार्यालयका १ सचिव पोखरामै छन् । मन्त्रिपरिषदको कार्यालयका अर्का १ सचिव विष्णु ढकाल काठमाडौं गएका छन् । अधिकांश सचिव परदेशको भ्रमण र यहीं भएकाहरु पनि कार्यालयमा नहुँदा काम कारबाही प्रभावित भएको १ अधिकृतले बताए ।
सचिवहरु विदेश भ्रमणमा रहँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल पनि थाइल्यान्डको भ्रमणमा छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषिमन्त्री लेखबहादुर थापामगर बुधबार पोखराबाहिर थिए ।
प्रदेश सरकारको बजेट कार्यान्वयन हुन नसकिरहेको बेला मन्त्रीहरुले त्यतापट्टि ध्यान नदिई अनौपचारिक कार्यक्रमतिर व्यस्त बनेको कर्मचारीहरु बताउँछन् । सामाजिक विकास मन्त्री नरदेवी पुन र आन्तरिक मामिला तथा कानुनमन्त्री बुधबार पोखरै थिए । प्रत्येक बुधबार बस्ने मन्त्रिपरिषद बैठक मन्त्रीहरु बाहिरी जिल्ला भएकै कारण बस्न सकेन ।