प्रदेश २ को प्रदेशसभामा सत्ता साझेदार दलका सांसदहरुले नै सरकारको काम कार्यबाहीप्रति कडा आलोचना गरेका छन् ।
झण्डै १ महिना १० दिनपछि शुक्रवार बसेका प्रदेशसभा बैठकमा सरकारले समृद्धि र विकासको नारा दिएपनि व्यवहारमा उतार्न नसकेको भन्दै सत्ता साझेदार दलका सांसदहरुले प्रदेश सरकारको आलोचना गरेका हुन् ।
राजपाका प्रदेशसभा सांसद बाबुलाल साह कानुले प्रदेश २ का नागरिकले सरकार भएको आभास गर्न नसकेको दाबी गरे । उनले प्रदेशका मन्त्रीहरु शिलान्यास र पूजापाठ जस्ता कार्यक्रमहरुमा बढी सहभागि हुने गरेको बताउँदै त्यस्ता कार्यक्रममा नगएर जनतालाई अनुभूति हुनेगरी कार्यक्रम ल्याउन सुझब दिए ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक बितिसकेपनि प्रदेश सरकारले विकास निर्माणको कुनै योजना अगाडी बढाउन नसकेको भन्दै यस्तै गतिमा हिँडे प्रदेशको समृद्धि नारामै सीमित रहने जिकिर गरे ।
सांसद कानुले सरकारको कामकार्यबाहीको बारे जनताले जिज्ञासा राख्दा झुटो बोलेर कुरा टार्ने अवस्था उत्पन्न भएको भन्दै सरकारको कामकारबाहीप्रति चिन्ता व्यक्त गरे । उनले विकास निर्माणदेखि सरकारको अन्य कामकार्यबाहीबारे मतदाताले सोध्न थालेको भन्दै सरकारको कामकारबाही हेर्दा जनतासमक्ष झुटो बोल्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
‘निर्वाचन क्षेत्रमा पुगेपछि सरकारले के के गर्यो भन्दै जनताले प्रश्न सोध्न थालेका छन्,’ साहले भने,‘झुटो बोलेर उहाँहरुलाई भुल्याउनु पर्ने अवस्था आएको छ । कहिले सचिवको सरुवा त कहिले नयाँ योजनाहरु बन्दै छ भनेर वहाना बनाउनु परेको छ ।’
मालपोतदेखि ऋण लिन बैंकहरुमा कमिसनको खेल चलिरहँदा समेत प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर रोक्न नसकेको अवस्था देखिएको उनले बताए ।
यसैगरी राजपाका अर्का सांसद रानीशर्मा तिवारीले पनि प्रदेश २ को समृद्धिको आधार कृषि रहेपनि हालसम्म सरकारले यस क्षेत्रमा केहि गर्न नसकेको आरोप लगाइन् ।
दोस्रो चौमासिकसम्म आइपुग्दासमेत सरकारले कार्यविधि तयार गर्न नसक्दा फेरीपनि अषाढे विकासमा रकम खर्च हुने निश्चित प्रायः रहेको भन्दै तिवारीले यस्तै गतिमा सरकार अगाडी बढे समृद्धि कुनै हालतमा संभव नरहेको बताए ।
शहरी विकास कार्यालयमार्फत भइरहेका विकास निर्माणका कार्यहरुमा ठेकेदारले व्यापक लापारबाही गरिरहँदा समेत प्रदेश सरकारले केहि बोल्न नसकेको उनको आरोप थियो ।
राजपाका सांसद जानकी रमण साहले रातु नदीले महोत्तरीमा वर्षा याममा बितण्डा मचाइरहेकोले नियन्त्रणतर्फ ध्यान दिन पटकपटक आग्रह गरेपनि प्रदेश सरकारले सुनवाइ नगरेको आरोप लगाए ।