३ नं प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलसहित तीनजना मन्त्री विदेश भ्रमणमा रहेका छन् ।मुख्यमन्त्री डोरमणि पौडेल चार दिनका लागि कतारको यात्रा तय गरेका छन् । कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनका लागि मुख्यमन्त्री पौडेलको कतार यात्रा तय भएको हो । उनी भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् ।
मुख्यमन्त्री पौडेलसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल ‘वन बेल्ट, वन रोड’ कार्यक्रममा सहभागी हुन कतार जाँदैछन् । उनीहरु कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निम्तोमा चार दिने भ्रमणमा कतार निस्केका हुन् । मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल मंसीर १३ गते मात्रै फर्कने कार्यक्रम तय भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
कतार र चीनको राजनितिक सम्बन्ध स्थापना भएको ३० औं बर्षगाँठको अवसरमा आयोजना हुने ‘वन बेल्ट, वन रोड’ कार्यक्रममा सहभागी हुँदा विश्वभरका बिशेषज्ञ तथा प्रबुद्ध व्यक्तिहरुसँग सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग लगायतका बिषयमा मुख्यमन्त्री पौडेल र मन्त्री नेपालले अन्तरक्रिया गर्नेछन् । कार्यक्रममा विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरु सहभागी हुने बताइएको छ ।
कार्यक्रममा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुर लगायत देशका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।
यसअघि पारिवारिक काममा भूमिब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा भारत छन् । पत्नीको उपचारको सिलसिलामा मन्त्री लामा दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ । मन्त्री लामाले पारिवारिक कामले आफू केही समय भारतको दिल्लीमा रहने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
कूल सात सदस्यीय मन्त्री परिषदमा भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त भएपछि मुख्यमन्त्रीसहित ६ जना मन्त्रीहरु ३ नं प्रदेश सरकारमा रहेका छन् । ६ जनामध्ये मुख्यमन्त्रीसहित ३ जना मन्त्री देशबाहिर पुगेका छन् भने आन्तरिक तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल स्वदेशमा रहेका छन् ।