अर्बौं मूल्य बराबरको जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा फरार रहेका जनकपुरस्थित रतनसागर मठका महन्त बैकुण्ठ दास काठमाडौंकाे कमलपाेखरीबाट पक्राउ परेका छन्। अपराध अनुसन्धान व्यूराे र जनकपुर प्रहरीकाे संयुक्त प्रयासमा पक्राउ गरिएकाे एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए।
अदालतले गत शुक्रबार उनी विरूद्द पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका थिए। हजारी जनक संस्कृत विद्यापीठका महन्थ दासले नक्कली लालपुर्जा बनाएर जमिन बेचेपछि एक व्यक्तिले आफ्नो जग्गा रहेको दाबी गर्दै अदालतमा मुद्दा परेपछि पक्राउ पुर्जी जारी गरिएको थियो।
नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा रेजा आलमलाई ४० लाख रुपैयाँमा बेचेको स्थानीयको भनाई छ।
हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुइ बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए। केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ।