नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला गतिबिधि सञ्चारमाध्यममाथि नियन्त्रण गर्नेतर्फ केन्द्रित भएकोमा आपत्ति जनाउँदै यो सिंगो लोकतन्त्रमाथिको खतरा भएको टिप्पणी गरेका छन्।
‘सञ्चारमाध्यममा प्रकाशित टिकाटिप्पणीलाई लिएर सत्तापक्षका नेताहरुका सार्वजनिक अभिव्यक्ति सुन्दा उनीहरुले सञ्चारमाध्यमलाई पार्टीको नियन्त्रणमा राख्ने भित्रि मनसाय बुझ्न सकिन्छ’ राजधानीमा शुक्रबार आयोजित द नेपाल टप अनलाईनको शुभारम्भ गर्दै उपसभापति निधिले भने,‘ स्वतन्त्र संचार माध्यममाथिको नियन्त्रण हाम्रा लागि कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’
संघीयता कार्यान्वयनमा सरकारको अरुची देखिएकोप्रति आपत्ति जनाउँदै उनले भने,‘तीन तहको निर्बाचा पूरा गरेर मात्र संघीयता कार्यान्वयन हुन सक्दैन, यसका लागि प्रदेशलाई अधिकारसम्पन्न बनाउनु पर्दछ।’ तर, सरकार प्रदेशलाई अधिकार दिनुको सट्टा भएका अधिकार पनि केन्द्रिकृत गराउँन लागि परेको उनको भनाई थियो।
संविधान संशोधन लगायत संघीयता कार्यान्वयनमा प्रतिपक्षी दल कांग्रेसले सहयो गरिरहँदा पनि सरकार संघीयता कार्यान्वयनमा उदासिन देखिएको उपसभापति निधिको भनाई थियो।
कार्यक्रममा राजपा महासचिव केशव झा,नेकपा सांसदहरु रामकुमारी झाँक्री, इन्दु शर्मा, प्रदेश सांसदहरु शिवचन्द्र चौधरी, डिम्पल झा, पूर्व सांसद रामकुमार शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले पछिल्लो समय अनलाईन पत्रकारिताले मारेको फड्को र यसका चुनौतीबारे बोलेका थिए।