नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पस इकाईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ।
निर्मलाका निम्ति न्याय माग्दै नेविसंघ पद्यकन्या क्याम्पस इकाई समितिले शुक्रबार बिहान बागबजारमा विरोध र्याली निकालेको हो। बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा पक्राउ पर्न नसकेको भन्दै सरकारलाई दबाब दिन विरोध र्याली निकालिइएको नेविसंघ सहमहामन्त्री एवं पद्मकन्या क्याम्पस इकाई समितिकी अध्यक्ष साधना घिमिरेले जानकारी दिइन्। उनले अबोध बालिका निर्मलाको हत्यारा पक्राउ गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्।
विरोध र्यालीपछि स्पेसखबरसँग कुराकानी गर्दै नेतृ घिमिरेले निर्मलाका परिवारले न्याय नपाएसम्म सरकारविरुद्ध विरोध प्रदर्शन जारी राख्ने बताइन्। ‘४ महिना भइसक्यो सरकारले अझै निर्मलाका हत्यारा पक्राउ गर्न सकेको छैन,’उनले भनिन्,‘सरकारले रिमतामात्रै हेरेर बसेको छ। सरकारका आँखा खुलाउन हामीहरुले निर्मलाका निम्ति न्याय माग्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हौं।’
उनले हत्यारा पक्राउ गर्न नसक्ने गृहमन्त्री रामबहादुर थापाले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने पनि बताइन्। सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण दिएको आरोप नेतृ घिमिरेले लगाइन्।
विरोध र्यालीमा झण्डै २०० भन्दा बढी नेविसंघका नेता तथा कार्यकर्ता सहभागी भएका थिए। विरोध र्यालीमा बझाइँ देउ मादल, कता छन् बादल?, भो भो समृद्धि कहिले न्याय चाहियो अहिले?, दुई तिहाई बहुमत मान्छे मार्न हो? लगायतका प्ले कार्ड हातमा लिएर नेविसंघका नेता तथा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए।
निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै देशभर कांग्रेस कार्यकर्ता, सामाजिक अभियन्ताहरुले दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन्।