शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री भएकाे दावी गरेका छ।
शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाइकल र्यालीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए।
खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावना विपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन्। अब चेतिसकेका छन्, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र जनपक्षीय हुन्छ, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताबारे गम्भिर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन।’
वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्विकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने,‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महसुस गरिसकेका छन्। पार्टीको झण्डा बोकेर देश बच्दैन, गणतन्त्रले जनताको भलाई गर्न सकेन, देशमा वैदेशिक हस्तक्षेप बढेको छ, महंगीले नेटो काटेको छ, धर्म डलरमा बिक्रि गरिँदैछ, देशलाई विखण्डन गरिँदैछ, सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन्।’
पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही यूवा शक्ति नेपालले आउँदो पुस १ गते विशाल मोटरसाईकल र्यालीको आयोजना गरिएको खड्काले बताए।