मुख्यमन्त्री लालबाबु राउतले विकास र समृद्धिका मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन्।
धनुषाको लालगढमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश नम्बर २ स्तरीय प्रथम प्रदेश अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्र विन्दु स्थानीय तह नै रहेकाले हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत प्रवृतिबाट माथि उठ्नु पर्ने सुझाव दिँदै उनले इमान्दारिताका साथ विकास निर्माणको काममा लाग्न आग्रह गरे। मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्याहरु समाधानका लागि पनि प्रदेश र स्थानीय तहबीचको समन्वय आवश्यक रहेको उल्लेख गरे। नेपालको संघीयता नै सहकार्यमा आधारित रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा उनले जोड दिए।
भ्रष्टाचारको विषयमा २ नम्बर प्रदेश धेरै बदनाम भइसकेको तर्फ सचेत गराउँदै उनले भ्रष्टाचार न्यूनिकरणमा भूमिका निर्वाह गर्न समेत आग्रह गरे। मुख्यमन्त्री राउतले प्रदेश सरकार भ्रष्टाचार न्यूनिकरणका लागि स्वशासन ऐन प्रदेश सभामा दर्ता गराइसकेको उल्लेख गर्दै स्वशासन ऐन पारित भए लगत्तै भ्रष्टाचारीहरु कानूनको कठघरामा आउने बताए।
प्रदेश अन्तर्गतका ५९ गाउँपालिका जनप्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने छ।