प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महोत्सवहरु मौलिकतामा आधारित हुनुपर्ने बताएका छन् ।
पश्चिम मकवानपुरको मनहरीमा शुक्रबारबाट सुरु भएको चौथो मनहरी महोत्सव २०७५ लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय उत्पादनहरुको प्रवद्र्धन हुने गरी महोत्सवहरुलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
‘सेता तिघ्रा देखाएर कला र संस्कृतिको सम्बद्र्धन र संरक्षण हुँदैन’, मुख्यमन्त्री पौडेलले भने–‘स्थानीय कला, प्रतिभाको प्रस्फुटन गराउने थलोको रुपमा महोत्सवहरु रुपान्तरित भएर जानुपर्छ ।’
अर्काे प्रसंगमा सरकारले स्थानीय उत्पादन, उद्यम गर्न चाहनेहरुलाई आर्थिक रुपमा सहयोग र प्रोत्साहन गर्ने बताए । केही दिनअघि कतार गएर फर्केको प्रसंग कोट्याउँदै मुख्यमन्त्री पौडेलले त्यहाँ कामका लागि जाने कामदारहरुसँग पनि अन्तरक्रिया गरेको उनले सुनाए । ‘मैले उनीहरुलाई नेपालमा प्रविधि भित्र्याउने गरी आउनू, उता २५ हजार तलब पाउनेहरुलाई यहीँ ४० हजार मासिक तलब पाउने वातावरण बनाउँछु भनेको छु’, मुख्यमन्त्री पौडेलले भने । कार्यक्रममा भूमि व्यवस्थाप, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषि उद्यम बृद्धि गर्न सरकारले योजना बनाएर लागेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्दप्रसाद रिजाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा मनहरी गाउँपालिकाको तर्फबाट एसियन प्यासिफिक सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण पदक बिजेता गणेशबहादुर थिङलाई सम्मान गरिएको थियो । महोत्सवमा २१५ वटा स्टल रहेका छन् । १ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ७ करोडको कारोबार हुने अनुमान आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले गरेको छ ।