पूर्व राजदूतहरुले आफनो देश र नियुक्त भई जाने मुलुकको विविधताबारे पर्याप्त जानकारी भएको तथा मुलुकको राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने व्यक्तिलाई मात्र राजदूत बनाउने परिपाटी बसाल्न सुझाव दिएका छन् ।
संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवामा लामो अनुभव रहेका पूर्व राजदूतहरुसँग गरेको छलफलमा उनहरूले कूटनीतिक कौशल भएको, अङ्ग्रेजी भाषामा पोख्त र राष्ट्रिय हितमा प्रखररुपमा काम गर्न सक्ने व्यक्तिलाई राजदूतमा नियुक्त गर्न सुझाव दिए ।
समितिले पूर्व राजदूत पुष्करमानसिंह राजभण्डारी, प्रल्हाद प्रसाईं, रामभक्त पिभी ठाकुर, रुद्र नेपाल र निरन्जनमानसिंह बस्न्यातसँग कस्ता व्यक्तिलाई मुलुकको प्रतिनिधिका रुपमा रहने राजदूत नियुक्त गर्न उपयुक्त होला तथा राजदूतबाट मुलुकको हितका खातिर के कस्ता काम हुन सक्दछ भनी परामर्श गरेको हो ।
समितिले आगामी आइतबार भारत, मलेसिया, इजरायल र संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्दैछ ।