अन्तरप्रदेश परिषदको बैठक आज पनि बस्ने छ।
प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि आइतबारबाट सुरु भएको बैठक आज पनि जारी रहने भएको हो। प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा धारणा राख्न बाँकी तीन जना मुख्यमन्त्रीले बोल्ने कार्यक्रम छ।
आजको बैठकमा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्ने छन्। आइतबारको बैठकमा धारणा राख्ने चारै मुख्यमन्त्रीले संघीयता कार्यान्वयनमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदेश र केन्द्रबिच दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेशको बैठक बोलाएका हुन्।
आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले धारणा राखेका थिए।
पहिलो दिनको बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा जोड दिन केन्द्र सरकारको विशेष ध्यानाकर्षण गराएका थिए।