अन्तर प्रदेश परिषद्को बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको अन्तर प्रदेश परिषद्को बैठक सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।
बैठकले अन्तर प्रदेश परिषद् बैठकको निष्कर्षसहितको प्रतिवेदन बनाउन गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको मन्त्री बास्कोटाले जानकारी दिए।
उनका अनुसार गृहमन्त्री बादलसहित अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यसचिव लोकदर्शन रेग्मी रहेका छन्। मुख्यसचिव रेग्मीलाई कार्यदलको सदस्य सचिव तोकिएको छ।
संघ र प्रदेशबीच देखिएको समस्या, प्रदेश सञ्चालनमा देखिएका समस्या र बैठकमा सहमति भएका विषयलाई परिमार्जित रुपमा प्रतिवेदनका रुपमा पेश गर्न कार्यदल गठन गरिएको उनले बताए।
संविधानमा अनुसूचीमा भएका अधिकारहरु ,साधान स्रोत, कर्मचारी पठाउने र बिकास कार्यक्रमलाई अघि बढाउने विषयमा बैठकमा सहमति भएको मन्त्री बास्कोटाले जानकारी दिए। कार्यदलले पुस ३ दिउँसो १ बजे प्रतिवेदन संघीय सरकारका मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरु उपस्थितिमा बुझाउने छ।