प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे अनुसन्धानका क्रममा कसैले दबाब नदिएकाे बताएका छन्।
निर्मला पन्तकाे हत्याबारेकाे अनुसन्धान साँघुरिँदै गएकाे बताउँदै उनले अनुसन्धानकाे निष्कर्ष कहिले आउँछ भनेर अाफूले समय ताेक्न नसक्ने बताए।
दिगो विकास तथा सुशासन समितिको सोमबार बसेकाे बैठकमा सांसदहरुले उठाएका प्रश्नकाे जवाफ दिँदै खनालले भने,'हाम्रो सामर्थ्यले सक्ने काम गरिरहेका छौं। अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन। प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ।'
कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पक्राउ नगरिएकाे भन्दै चर्काे अावाज उठेपछि सुशासन समितिले अाइजीपी खनाललार्इ बैठकमा बाेलाएकाे थियाे।
महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए। उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशंका देखिएको उल्लेख गरे।
बैठकमा समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो? भन्दै आईजिपी खनाललाई प्रश्न गरेका थिए। कांग्रेस सांसद एवं समितिकी सदस्य सरिता प्रसाईंले जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न कसले रोकेको छ ? भन्ने प्रश्न गरिन्।
सांसद विमला राई पौडेलले अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरिन्।
समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशंका देखिएको बताएका थिए। उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाए।
प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन्। बैठकले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिएको छ।