परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने बताएका छन्।
परराष्ट्रविद् डा. शम्भुराम सिंखडाद्वारा लिखित पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिंसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिएका हुन्।
मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरुले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिंसा, भोक र रोकको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने बताए।
उनले भने,‘ठूला राष्ट्रहरुले संयुक्त राष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरुप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा यमन र सिरियाका मानिसहरुको हालत के छ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिका साथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भीर हुनुपर्छ कि पर्दैन्?’
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका कानुनी सल्लाहकार सुशील प्याकुरेलले मानवअधिकारको बारेमा कुरामात्रै गर्नुभन्दा पनि यसलाई व्यबहारमा उतार्नु पर्ने बताए।
कार्यक्रममा त्रिविका पूर्व उपकुलपति प्रा.डा.केदारभक्त माथेमाले असमानता र विभेद सिर्जना भएको खण्डमा मानव अधिकारको खाँचो पर्ने बताए।
पुस्तकका लेखक डा. सिंखडाले दोस्रो विश्व युद्धपछिको विश्वको मानवअधिकारको वर्तमान अवस्थाको बारेमा आफूले भोगेका र अनुभव गरेका कुराहरु समावेश गरेर पुस्तक प्रकाशन गरेको सुनाए। पुस्तक बिक्रिमार्फतको सम्पूर्ण रकम विश्वशान्ति चिरन–मिलन (सामुदायिक) क्याम्पस बाँसबारी, काठमाडौंलाई प्रदान गर्ने जानकारी पनि सिंखडाले दिए।