प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री अाेलीले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दु:खद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै दोषीको पहिचान ढिलोचाँडो हुने बताए । उनले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे। प्रधानमन्त्री अाेलीले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको बताए।
आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गरे।