राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको गैर जिम्मेवारीपनाका कारण देशमा धार्मिक द्वन्द्व हुन सक्ने अनुमान गरेका छन् ।
हेटौँडामा ३ नं प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले तराईमा देश विखण्डनको अभियान चल्दा पनि सरकारले खासै चासो नदिएको आरोप लगाए । उनले यही पारामा सरकार अघि बढ्ने हो भने धर्मको नाममा पनि किचलो सुरु हुनसक्ने बताए ।
सरकार सबै क्षेत्रमा असफल भएको आरोप लगाउँदै थापाले भने–‘महिला हिंसा र बलात्कारको घटना दिनहूँ बढेका छन्, जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् ।’ उनले पार्टी एकीकरणको लागि आफूहरु सदैब गम्भीर रहेपनि पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनीहरुका कारण बिथोलिएको आरोप लगाए । पार्टी एकीकरण भएपछि अभियान चालौँला भनेर बस्दा ढिला हुने भएकाले राप्रपाले जागरण अभियान सञ्चालन गर्न थालेको उनले सुनाए ।
३ नं प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा आगामी दिनमा संगठन परिचालनका लागि रणनीति र कार्ययोजना निर्माण गर्ने बताइएको छ । कार्यक्रममा ३ नं प्रदेशका १३ वटै जिल्लाका स्थानीय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु सहभागी रहेको राप्रपाका सह महामन्त्री राजाराम बर्ताैलाले बताए ।