राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन्।
मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै महतोले संविधान संशोधन र रेशम चौधरी लगायत मधेस आन्दोलनमा पक्राउ परेका वन्दीहरुको रिहाई नभएसम्म राजपा सरकारमा सहभागी नहुने प्रष्ट पारे। उनले मधेसको मागलाई थाती राखेर सरकारमा जानुको अर्थ नरहेको बताए।
राजपाले गुण र दोषका आधारमा सरकारलाई समर्थन गरेको भन्दै उनले सरकारको राम्रो कामलाई समर्थन गर्ने र नराम्रा कामको विरोध गर्ने बताए। संयोजक महतोले सरकारलाई दिएको समर्थनबारे अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुने बताए। उनले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि आफूहरुका मागप्रति सरकार गम्भीर नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने निर्णय अबको बैठकले गर्ने बताए।
संयोजक महतोले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार सरकार चल्न नसकेको बताए। मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना चौतर्फी रुपमा बढ्दै गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको उनको आरोप छ।
फरक प्रसंगमा संघीय समाजवादी फोरम र राजपा नेपालबीच एकताको सम्भावना नरहेको बताए। उनले एकताका लागि नीति र नियत ठीक हुनु पर्ने बताए।