सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्।
सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिमै जान छाडेका हुन्। मन्त्रीले संसद्का समितिमा अनुपस्थित हुँदा संसदीय समिति सरकारको छायाँमा परेको छ। समितिका सभापतिले पनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्न सकेका छैनन्। मंसिरमा मात्रै संसद्का चार समितिमा मन्त्रीले बैठक छलेका छन्।
दस दिनअघि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बोलाएको थियो। तर, कार्यक्रम जुधेको भन्दै मन्त्री ढकाल समिति बैठकमा गएनन्। यस्तै खानेपानीमन्त्री बिना मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि बिरामी भएको र अन्य ठाउँमा कार्यक्रम जुधेको भन्दै बैठक छलिरहेका छन्।
प्रतिनिधिसभा विकास समिति सभापति कल्याणीकुमारी खड्काले ‘खानेपानीमन्त्री बिना मगर बिरामी भएको खबर आएको छ’ भन्दै बैठक सञ्चालन गरिन्। तर खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले बिरामी नभएको कुरा गरेपछि समितिमा मन्त्री मगरको आलोचना भयो। समिति सभापति खड्काले भनिन्, ‘सचिवको कुरा सुनेपछि बिरामी भएको विश्वास लागेन।’ नागरिक दैनिकमा खबर छ।