प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक पुनः स्थगित भएको छ।
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा अन्य सदस्यहरु उपस्थित भएपनि कांग्रेस सभापति देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने तय भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले जानकारी दिए।
यसअघि मंगलबार स्थगित भएर पुस ५ गतेलाई तय भएको बैठक आकस्मिकरुपमा बुधबार बिहानका लागि बैठक बोलाइएको थियो। बिहीबार बस्न बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस हुने तिमिल्सीनाले जानकारी दिए।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यता छ। संवैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।