भारतको ५ वटा राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) लाई पछाडि पार्दै कंग्रेसले तीनवटा राज्यमा सरकार बनाउने पक्कापक्की भएको छ।
यसअघि भाजपाले सत्ता सम्हाल्दै आएको छत्तीसगढ, राजस्था र मध्यप्रदेशमा कंग्रेस नेतृत्वमा सरकार गठन हुने भएपछि भाजपा विपक्षमा पुगेको छ।
सन् २०१९ को लोकसभा चुनावको सेमीफाइनलको रुपमा हेरिएको निर्बाचन परिणामले भाजपालाई नराम्रो धक्का दिएको छ।
ती निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समूह प्रचार प्रसारमा खटिएको थियो। कंग्रेसका तर्फबाट अध्यक्ष राहुल गान्धीले मोर्चा सम्हालेका थिए।
२३० सिट रहेको मध्यप्रदेशमा कंग्रेसले ११४ सिटमा जित हात पारेको छ। बहुमतको सरकार बनाउन ११६ सिट आवश्यक रहेकोमा कंग्रेसलाई २ सिट अपुुग छ। कंग्रेसलाई आबश्यक २ सिटमा बहुजन समाजबादी पार्टीले समर्थन गर्ने बताइसकेको छ। १०९ सिट जितेको भाजपा मुख्य बिपक्षी दल भएको छ।
९० सिट रहेको छत्तीसगढमा कंग्रेसको प्रचण्ड बहुमत छ। सरकार बनाउँन ४६ सिट आवश्यक पर्नेमा कंग्रेसले ६८ सिट जितेको छ। सन् २०१३ को निर्वाचनमा ४९ सिट जितेर सरकार बनाएको भाजपा अहिले १५ सिटमा खुम्चिएको छ।
राजस्थानमा पनि कंग्रेसलाई सरकार बनाउन थप १ सिट आवश्यकता पर्छ। २०० सिट रहेको राजस्थानमा कंग्रेसले १०० सिटमा जित हात पारेको छ भने भाजपा विगतको भन्दा ९० सिट गुमाउँदै ७३ सिटमा सीमित भएको छ। कंग्रेसलाई सरकार बनाउँन बहुजन समाजबादी पार्टीकी मायावतीले समर्थन गर्ने बताइसकेकी छन्। राजस्थानमा कंग्रेसको सरकार गठन हुने पक्का भएको छ।
तेलंगनामा भने भाजपा र कंग्रेसलाई घाटा लागेको छ। यहाँ फेरि एक पटक टीआरएसले नै सरकार बनाउने भएको छ।
तेलंगना राष्ट्रिय समिति टीआरएसले यसअघिको निर्वाचनका भन्दा २५ सिट बढी जितेको छ। अहिले ८८ सिट जितेको टीआरएसलाई बहुमतका लागि जम्मा ६० सिट आवश्यक पर्छ ।
तेलंगनामा कंग्रेसले १६ सिट गुमाउँदै २१ सिटमा जित हात पार्दा भाजपाले ४ सिट गुमाउँदै १ सिटमा मात्र जित हात पारेको छ ।
४० सिट रहेको मिजोरममा मिजो नेशनल फ्रन्ट (एमएनएफ) ले २६ सिट जित्दै सरकार बनाउने भएको छ। यसअघिको निर्वाचनमा जम्मा ५ सिट जितेको एमएनएफले यसपटक कंग्रेसलाई पछि पार्दै सत्तामा पुगेको हो। कंग्रेसले ५ सिट जित्दा भाजपाले पहिलो पटक १ सिट जितेको छ।