चिसो मौसम शुरु भएसँगै जंगलका बीचमा बस्दै आएका राउटेहरु विरामी पर्न थालेका छन्।
राउटेहरुले सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन नसक्दा उपचार र जाडोमा ओढ्ने, ओछ्याउने लत्ता कपडा किन्न नसक्दा राउटे बालबालिकाहरु विरामी पर्न थालेका हुन्। राउटेहरुले सामाजिक सुरक्षा भत्तावापत सरकारले दिने मासिक एक हजार रुपैयाँ यसपटक पाएका छैनन् । जाडो मौसम अनि जंगलको बास, यिनीहरुसँग ओढ्ने ओछ्याउने किन्ने पैसा पनि छैन।
भत्ता नपाउँदा लत्ताकपडा समेत किन्न नपाएको मुखिया मैनबहादुर शाहीले गुनासो गरे। चिसोका कारण रुघाखोकी र ज्वरोले राउटे बालबालिकाहरु विरामी पर्न थालेका हुन्। उनले भने,‘बालबालिका विरामी पर्न थालेका छन् ओढ्ने, ओछ्याउने किन्ने पैसा नै छैन।’
दैलेखको गुरास गाउँपालिकाले भत्ता वितरण नगर्दा बस्तीमा खाद्य संकट खेप्नु परेको राउटे अर्का मुखिया सूर्यनारायण शाहीले बताए। उनले भत्ता नपाउँदा देउता पुज्ने काम समेत प्रभावित हुने बताए। राउटेले गत कात्तिकमा पुज्नुपर्ने देउता हालसम्म पुजेका छैनन्। ‘ठूलो पर्व पुज्ने दिन आउँदैछ, त्यसका लागि खाद्यान्न र प्रत्येक घरमा खसी चाहिन्छ,’ मुखिया शाहीले भने,‘अहिलेसम्म भत्ता पाएका छैनौं, जनता पाल्न गाह्रो भइसक्यो।’
केही दिनअघि कर्णाली प्रदेश प्रहरी श्रीमती संघले जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेको थियो। स्थानीय सरकारले राहात वितरण नगरेको बेला राउटे समुदायलाई कर्णाली प्रदेश प्रहरी श्रीमती संघले राहातका लागि ओढ्ने,ओछ्याउने कपडा वितरण गरेको हो। एकसरो कपडा र छाप्रोमा बस्दै आएका ४२ घरपरिवारलाई ७० वटा कम्बल र खानेकुरा प्रदान गरिएको थियो।
राउटे समुदायका ४२ परिवार हाल सुर्खेतको साटाखानीस्थित जंगलमा बस्दै आएका छन् ।यता, गुरास गाउँपालिकाले राउटेलाई समयमै भत्ता वितरण गर्न नसकिएको जनाएको छ। गाउँपालिकाले राउटे समुदायलाई भत्ता वितरण गर्ने तयारीमा रहेको जनाएको छ।