भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधिन रामजानकी मार्ग तयार भइसकेपछि जनपुरधाम–अयोध्याको दुरी मात्र ४ घण्टाको हुने बताएका छन्।
त्रेता युगमा भगवान रामले विवाह गरी सीतालाई अयोध्या लगेको रामजानकी मार्गलाई ४ लेनको सिसीमार्गको आयोध्याबाट निर्माणकार्य शुरु भइसकेको बताउँदै उनले यसबाट साँस्कृतिक सम्बन्ध थप प्रगाढ हुने दावी गरे। नेपाल र भारतबीच नेपालको भौतिक विकासमा एकमत रहेको जिकिर गर्दै योगीले नेपालसँग जोडिने सबै बाटो बनाउँन भारतले प्रयास गरेको उल्लेख गरे।
जानकी मन्दिरले रंगभूमि मैदान बाह्र विगाहामा आयोजना गरेको रामजानकी विवाह महोत्सव अन्तर्गत स्वयंबर कार्यक्रममा नेपाली भाषामा सम्बोधन गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना बोकेर आउँन पाउँदा गौरबान्वित महसुश गरेको उल्लेख गर्दै उनले भने ‘सबै नेपालीका लागि प्रधानमन्त्री मोदीको बधाई र शुभकामना बोकेर आएको हुँ। तापाँईहरुको माझमा सम्पुर्ण भारतावसीको दुतको रुपमा आएको छु। मिथिलाधामको पवित्र धर्तीमा आउँदा गौरवान्वित महसुश गरेको छु’, उनले भने।
जनकपुर पुगेर आफूलाई घरमै बसेको अनुभूति भएको योगीले बताए। प्राचिन समयमा विश्व अन्धकार रहेको बेला जनकपुर ज्ञानको भूमिको रुपमा परिचित रहेको भन्दै भगवान बुद्ध र महावीरले समेत शाश्वत सत्यको खोजी गर्दै जनकपुर पुगेको पुरानो घटना उनले सुनाए।‘जतिखेर संसार अन्धाकारमा बाँचिरहेका थिए त्यतीखेर जनकपुरधाम ज्ञानको समृद्ध परम्पराको रुपमा संसारका दार्शनिक र ज्ञानीकालागि जनकपुर धाउने गर्थे योगीले भने, ‘ विदेहराज जनकको सभा त्यसको प्रतिक हुने गथ्र्यो ।’
जनकपुर र अयोध्याबीचको धार्मिक तथा साँस्कृतिक सम्बन्धले दुई मुलुकबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै योगीले भगवान राम र माता सीताले स्थापित गरेको आदर्श तथा मूल्यमान्यता अझै कायम रहेको उल्लेख गरे।
उक्त अवसरमा जनकपुरवासीका तर्फबाट उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले योगीको नागरिक अभिनन्दन गरेका थिए। त्यस्तै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मुख्यमन्त्री योगीलाई मैथिली पहिरन पाग लगाएर सम्मान गरेका थिए।
सोही कार्यक्रममा जानकी मन्दिरले प्रकाशन गरेको विवाह पद्धति पुस्तकको विमोचन मुख्यमन्त्री योगीले गरे। स्वयम्बर कार्यक्रममा जन्तीको नेतृत्व गर्दै रंगभूमि पुगेका योगीलाई मैथिली संस्कृति अनुुसार मिथिला नाट्य कला परिषदका कलाकारहरुले मैथिली लोकगीत गाएका थिए। रंगभूमि मैदानमै राम जानकीको प्रतिकको रुपमा रहेका राम सीताले एक अर्कालाई माला लगाएपछि स्वयम्बर सम्पन्न भएको थियो ।
योगीको स्वागतमा ३६ व्यन्जन
मुख्यमन्त्री योगीको स्वागतका लािग प्रदेश २ सरकारले आयोजना गरेको दिवा भोजमा ३६ व्यन्जनको भोजनले स्वागत गरिएको थियो। योगीको सम्मानमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय (मधेश भवन) मा मिथिला परम्परा अनुसार दिवा भोजको कार्यक्रम राखेको थियो । भोजमा संघीय सरकारका नागरिक उडडयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, मुख्यमन्त्री लालबाबु राउत, राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, महन्थ ठाकुर, प्रदेशका मन्त्रीहरु लगायत साधुसन्तहरु सहभागी भएका थिए ।योगीको सम्मान कार्यक्रममा प्रदेश सरकारले सांस्कृतिक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो।
‘जनकपुर भ्रमण गरेर धन्य भएको छु’
योगीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे। रामजानकी विवाहोत्सवमा सहभागी हुन उनी विमानस्थलबाट सोझै जानकी मन्दिर पुगेका थिए। जानकी मन्दिरमा मुख्यमन्त्री योगीले करिब ३० मिनेट पूजाअर्चना गरेका थिए।
पूजाअर्चनापछि लेखेको विशेष नोटमा जनकपुर भ्रमण गरेर धन्य भएको उल्लेख गरेका छन्। उनले विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाएकोमा आफू धन्य भएको बताए। विशेष नोटमा योगीले लेखेका छन्,‘भगवान राम र माता सीताको जीवन दुई मुलुकबीचको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन्। उनीहरुले पालन गरेको आदर्श र मूल्य सार्वभौम छन् र हामी सबैलाई प्रेरणा प्रदान गर्दै आइरहेका छन्।’ योगीले लेखेको नोटमा भारत सरकार र त्यहाँका जनताको तर्फबाट नेपाली नागरिकलाई शुभकामनाका साथै सुख र समृद्धिको समेत कामना गरिएको छ। यसका साथै आफूसहित भ्रमणमा आएका प्रतिनिधिमण्डललाई भव्य स्वागत गरेको भन्दै मुख्यमन्त्री योगीले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। रामजानकी विवाहोत्सव कार्यक्रम अन्तर्गत स्वयंबर कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री योगी स्वदेश फर्किएका छन्।