नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्। उनले वीपी कोइरालाको सपना पूरा नभएकाले त्यो पूरा गर्न आफू सभापतिमा उठ्ने बताएका हुन्।
पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने,‘वीपीको सपना अधुरै छ। त्यो पूरा गर्न म सभापतिमा निर्वाचन लड्छु।’ उनले आफू वीपीकै सपना पूरा गर्न चिकित्सक पेशा छोडेर राजनीतिमा होमिएको बताए।
कोइरालाले अाफू सबै नेताहरुलाई साथमा लिएर अघि बढ्ने बताए। कोइरालाले वीपीको सिद्धान्तमा अविचलित भएर लागेका सबै नेता सभापतिका लागि सक्षम रहेको पनि बताए।
‘जो–जो साथीहरु वीपीको सिद्धान्तमा अविचलित भएर लागिरहनु भएको छ। उहाँहरु सबै सभापतिका लागि सक्षम हुनुहुन्छ। ती साथीहरू सबै कोइराला परिवारका सदस्य हुन्,’उनले भने,‘ मेरो त रगतको नातामात्रै हो।’ महासमिति बैठकपछि पार्टीले थप गति लिने कोइरालाले बताए।