गण्डकी प्रदेश सभा सदस्य टेकबहादुर घर्तीमगरको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगबाट ग्रसित ४६ वर्षे घर्तीमगरको उपचारका क्रममा बिहीबार निधन भएको गण्डकी प्रदेश सभामा जनमोर्चाका संसदीय दल नेता कृष्ण थापाले बताए ।घर्तीमगरबागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा वामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए ।
१७ दिनसम्म काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराउँदा निको नभएपछि घर्तीमगरलाई मंगलबार एअर एम्बुलेन्सबाट बेहोस अवस्थामा नयाँदिल्लीको एपोलो अस्पताल लगिएको थियो ।
शारीरिक अवस्था सामान्य भएपछि कलेजो प्रत्यारोपण गर्ने गरी दिल्ली लगिएकोमा बिहीबार निधन भएको गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दल नेता कृष्ण थापाले जानकारी दिए । एयर एम्बुलेन्सबाट एपोलो अस्पताल पुर्याएलगत्तै प्रदेश सभा सदस्य घर्तीमगरलाई आइसियुमा भर्ना गरिएको थियो ।
घर्तीमगरको शव गृहजिल्ला नै पुर्याएर अन्त्येष्टि गर्न दिल्लीबाट गाडीमा हिँडाइसकिएको दलका नेता थापाले बताए । ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोलाका बासिन्दा घर्तीमगर सानै उमेरदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील थिए । जिल्ला जनमोर्चाको जिल्ला कमिटि सदस्य हुन् । उनका पत्नी, ४ छोरी र २ छोरा छन् ।
गण्डकी प्रदेश सभामा जनमोर्चाका ३ सदस्य थिए । ६० सदस्य रहने प्रदेशसभामा अब ५८ सदस्य मात्र रहेका छन् । मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङे फौजदारी अभियोगमा प्रमाणित भएपछि कारागारमा छन् ।