प्रदेश नं ५ मा अाइतबार बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको घोषणा गरे।
यसअघि तीन वटै विधेयक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए।
विधेयकका विषयमा प्रदेशसभाका सदस्य चेतनारायण आचार्य, रमा अर्याल, कमलराज श्रेष्ठ, कुलप्रसाद पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए।
प्रदेशसभाका सदस्यले राखेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले स्थानीय तहमा रहेको कानून निर्माणको अपूर्णतालाई पूर्णता दिइएको बताए।