प्रदेश नं ५ का कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गरेका छन्।
आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले अाफूले सिफारिस गरेका व्यक्ति अस्वीकृत भएकाे अवस्थामा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरेका हुन् ।
संसदीय इतिहासमा पहिलाे पटक सबैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलार्इ सुनुवाई समितिले अस्वीकृत गरेकाे थियाे ।
प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले कामु प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम सिफारिस गरेर अनुमोदनका लागि संसदीय सुनुवाई विशेष समिति समक्ष पठाएको थियो । तर,सत्तारुढ दलको बहुमत रहेको समितिले विभिन्न पाँच कारण देखाउदै जोशीलाई प्रधानन्यायधीश बन्न अयोग्य रहेको भनि अस्वीकृत गरेको थियो ।
कांग्रेसका सांसदहरुले दुई तिहाईको दम्भकै कारण जोशीको नाम अनुमोदन नगरिएको बताउँदै सरकार अधिनायकवाद तर्फ अगाडि बढेको आरोप लगाए । बिशेष समय लिएर बाेल्दै अन्य सांसदहरूले भने सरकारकाे काम कारबाही प्रभावकारि हुन नसकेकाे भन्दै त्यस तर्फ पनि ध्यानाकर्षण गरेका थिए ।