एक महिनापछि बसेको ३ नं प्रदेश संसदको बैठक पाँच मिनेट सञ्चालन भई स्थगन भएको छ । प्रदेश राजधानी हेटौँडास्थित संसद सचिवालयमा बसेको बैठकमा प्रदेश सबारी तथा यातायात दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक पेस भएको छ ।
अर्थ तथा विकास समतिका सभापति सरेश नेपालले विधेयक पेस गरेका हुन् । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सो व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेस गरेका छन् ।
संसद बैठकमा भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए । बुधबार दिउँसो ३ बजेको लागि आब्हान गरिएको एक घण्टा ५ मिनेट ढिलो सुरु भएको थियो ।
दिउँसो ४ बजेर पाँच मिनेटमा सुरु भएको संसद बैठक ४ बजेर १० मिनेटमा सकिएको थियो । सभामुख सानुकुमार श्रेष्ठले बैठक बिहीबार दिउँसो १ बजे सम्मको लागि स्थगित भएको जानकारी गराएका थिए । यसअघि मंसिर ११ गते पाँच वटा विधेयक पारित गरेपछि संसद बैठक स्थगन गरिएको छ ।
संसद बैठक चलिरहँदा प्रदेशको राजधानीको बिषय जोडदार रुपमा उठ्ने भएकाले सरकारले संसद सञ्चालनमा आलटाल गरिरहेको छ । प्रदेशका राजधानी र नाम राख्ने बिषयमा सत्तासीन नेपाल कम्युनिष्ट पार्टीबीच नै विवाद रहेकाले संसदमा छलफल हुन पाएको छैन ।