प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षी दललाई प्रश्न गर्न दिन्न भन्ने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा सभामुख हुन् कि पार्टी सदस्य भन्ने प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि विपक्षी दल कांग्रेसका सांसदहरुले प्रश्नोत्तरका लागि माग गरेपछि सभामुखले समय दिएनन्। त्यसपछि कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक स्थगित भएको थियो।
बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सांसद गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरा सभामुख हुन् कि पार्टी सदस्य भन्ने प्रश्न गरे। थापाले भने,‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर, प्रतिपक्षी दलका सांसदहरुले प्रश्न गर्न दिन्न भन्ने सभामुख महरा, सभामुख हुन् कि पार्टी सदस्य?’
उनले सभामुख महराले हुमुकी शैलीमा संसद चलाउन खोजेको आरोप पनि लगाए। ‘प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर, प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको हुकुमी शैली हो,’ थापाले भने।
थापाले सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेकाले आफूहरुले प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोजेको आरोप लगाए। ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर, सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो। हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो,’ थापाले भने।
संसद बैठक सुचारु गर्ने विषयमा सहमति नभएपछि बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।