मनाङ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई सपथको बारेमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बोली फेरेका छन्। आइतबार दिउँसो कार्यव्यवस्था परामर्श समिति बैठकले सपथ नखुवाउने निर्णय भएको बताएका सभामुख अधिकारीले सोमबार सपथको बारेमा कुनै निर्णय नपुगिएको प्रतिक्रिया दिए ।
सोमबार बिहान राजीवले सभामुखसहित केही सांसदलाई भेटेपछि सभामुख अधिकारीले बोली फेरेका हुन् । मनाङ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ सोमबार दिनभर गण्डकी प्रदेश सभा सचिवालय परिसरमा व्यस्त देखिए । बिहान साढे १० बजे नै सहयोगीका साथ राजीव सचिवालय पुग्दा सभामुख र उपसभामुख पुगेकै थिएनन् ।
केहीबेरमा सभामुख नेत्रनाथ अधिकारी पुगेपछि प्रदेश सभा सचिव शम्भुबहादुर कार्कीले बैंठकको चाँजोपाँजो मिलाए । करिब १ घन्टाको बैठकपछि बाहिरिएका राजीवले सभामुखले १,२ दिन भित्रमै सपथको बारेमा निर्णय दिन्छु भनेको बताए । उनले भने,‘कुरा बाहिर आएको जस्तो रहेनछ, कानुनी परामर्श लिएर छिटै निर्णय दिन्छु भन्नुभएको छ, म सपथ खाएरै काठमाडौं फर्किन्छु ।’
सपथ पाऊँ भनेर सर्वोच्च जाने पक्षमा आफू नरहेको उनले बताए । ‘कानुनी हिसाबमै बलियो भएपछि म सर्वोच्च जानै पर्दैन । सपथ नै गराइएन भने पनि म सर्वोच्च जान्न र पद पनि उनैलाई दिन्छु, जसले सपथ गराउन हुँदैन भनिरहेका छन्, उनले थपे, ‘कानुन बनाउँछु भनेर हिँड्ने आफूहरु नै इन्साप नपाइएन भने के गर्ने ? पद पनि उनैलाई दिने हो ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर थप कुरा गर्ने राजीवले बताए । सभामुखले गर्ने निर्णय भए पनि १ पटक मुख्यमन्त्रीसँग भेट्न मन लागेको उनले प्रतिक्रिया दिए । सपथ लिनुभयो भने कुनै दलमा लाग्नुहुन्छ कि स्वतन्त्र नै रहनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘पहिला राप्रपामा थिएँ, कांग्रेसमा पनि लामो समय बिताएँ, अहिले नै कुनै पार्टीमा लागिहालुँजस्तो लागेको छैन । पछि विचार गरौंला ।’
मनाङेले गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै पुस १२ गते लिखित निवेदन दर्ता गराएका थिए । मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङे निवार्चित भएका थिए।