गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ।
बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाड माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।प्रदेश सरकार अन्तर्गका सरकारी, सार्वजनिक कार्यालय, शैक्षिक संघसंस्था लगायतलाई बिदा आह्वान गरिएको छ।
संघीय सरकार मातहतका कार्यालय भने खुलै रहनेछन्। गण्डकी प्रदेश सरकारले पुस १५ मा तमु लोसारको बिदा घोषणा गर्दा पनि संघीय कार्यालय पूरै खुलेका थिए । बैंक तथा वित्तीय संस्थालाई पनि प्रदेश सरकारको बिदाले असर पार्दैन।
पछिल्लो जनगणना अनुसार गण्डकीमा मगर समुदायको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ। थारु समुदायको जनसंख्या ४१ हजार १ सय ५९ छ। प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दीमा मगरको बाक्लो बस्ती छ। थारु भने यो प्रदेशको नवलपुरमा मात्रै छन्।