गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया माघ पहिलोसाताभित्रै टुंगिने बताएका छन्। नेकपाका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले माघ पहिलो साताभित्रै एकता प्रक्रिया टुंग्याउने गरी गृहकार्य भइरहेको बताएका हुन्।
नेकपा पर्साको पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,‘देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ। एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने तयारीमा पार्टी छ। यो महिना भित्र वा ढिलामा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छन्।’
उनले सरकारले अघि बढाएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराको अभियानलाई सार्थकता दिन सबैको साथ जरुरी रहेको बताए। उनले वर्तमान सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्न ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पनि पारे।
थापाले सरकारले विदेश गएका नेपालीलाई स्वदेश फर्काएर आफ्नै देशमा रोजगार दिलाउन प्रतिबद्ध रहेको बताए।