प्रदेश नम्वर ५ को गाडी खरिद प्रकरणको छानविनका लागि गठित संसदीय उपसमितिले शनिबारदेखि काम थालेको छ।
प्रदेश सरकार र संसदले चालु आर्थिक वर्षमा खरिद गरेका सवारी साधनका सम्वन्धमा छानविन गर्न गठित उपसमितिको पहिलो बैठक शनिबार बसेको छ। बैठकमा मन्त्रालय र सचिवालयबाट प्राप्त पत्रका साथ फाइल खोल्दै संयोजक कुलप्रसाद पोखरेलले सवारी साधन खरिद प्रकरणमा उठेका विषयको यथार्थ विवरण छिट्टै सार्वजनिक गरिने बताए।
उनले आवश्यक परे विज्ञहरुसँग समेत छलफल र परामर्श गरिने उल्लेख गरे। प्रदेश ५ को संसद तथा सरकारले चालुु आर्थिक वर्षमा करिव २३ करोडको सवारी साधन खरिद गरेको थियो। संसदका विभिन्न समितिका सभापतिदेखि प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकलगायतका लागि खरिद गरिएका १३ वटा सवारी साधनमध्ये अधिकांश बजारमुल्य भन्दा बढीमा खरिद गरिएका छन्। ती सबारी साधन एक महिनामा नै बिग्रन थालेपछि आर्थिक अनियमितता भएको आशंका गरिएको छ।
अधिकांश गाडी नेकपा संसदीय दलका प्रमु्ख सचेतक भुमिश्वर ढकालको पहलमा उनकै संलग्नता रहेको सफल अटो ईन्टरनेशनलमार्फत खरिद गरिएको छ। ढकालले गाडी खरिदमा आफ्नो कमजोरी पाइएमा कारवाहीको भागिदार हुने जिकिर गरेका छन्।
यता आफूले चढेको नयाँ गाडी बिग्रिन थालेपछि सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले अनुसन्धानमा सहज हुने भन्दै शुक्रबार नै संसद सचिवालयमा फिर्ता गरेका छन्।
प्रदेश नम्वर ५ को प्रदेश सभा सार्वजनिक लेखा समितिले गाडी खरिदका सम्बन्धमा छानविन गर्न शुक्रबार गठन गरेको उपसमितिमा नेकपाका सांसद कुलप्रसाद पोखरेल संयोजक छन् भने कांग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य छन्।