इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीकाे समर्थनमा काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरिएको छ।
डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै सोलिडारिटी फर डा केसी एलाइन्सले शनिबार माइतीघरमा प्रदर्शन गरेको हो। उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। सरकारले विगतमा डा. केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ। सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गएर डा केसी अनशनमा बसिरहेका छन्।तर, सरकारले सम्झौता कार्यान्वयनका लागि कुनै चासाे देखाएकाे छैन।
यसैबीच, अनशनरत डा. केसीले उठाएको मागप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ । संघले केसीको स्वास्थ्यस्थिति नाजुक रहेको र उनको जीनवरक्षा गरी माग सुनुवाइ गर्न सरकारसँग माग पनि गरेको छ । संघले विज्ञप्तिमार्फत केसीसँग भएका सम्झौता कार्यान्वयन नगरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आँच पुगेको पनि ठहर गरेको छ ।
संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘डा. केसी १६औं पटक अनसनमा बस्दा उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकारले डा केसीको जीवन रक्षाका निम्ति विशेष पहल गर्न समेत जोडदार माग गरिएकाे छ ।