विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले मिश्रले पार्टी छाडेर नयाँ दल दर्ता प्रक्रियामा लागेका पूर्वसंयोजक उज्वल थापालाई पुनः एक भएर सहयात्रा गर्न आग्रह गरेका छन्।
पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै संयोजक मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताए। तर, आफूहरुको अभियान नरोकिने मिश्रको भनाई थियो।
‘कुनै आग्रह, पूर्वाग्रह छैन। आउनुस् सँगै हिँडौं,’ संयोजक मिश्रले भने, ‘संवाद नगरी हुँदैन। नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भए होला, छोडेर जानुभएका साथीहरूबाट पनि कमजोरी भयो होला।’
नयाँ पार्टी दर्ता गर्न लागेकोमा मिश्रले थापालाई शुभकामना दिएका छन्। ‘अहिले छुट्टिएको भए पनि हेरिराख्नुस् देश रूपान्तरण गर्ने हामी नै हुने छौं,’ मिश्रले भने, ‘कुनै बिन्दुमा फेरि एक हुन्छौं।’ आफूहरुको पहलपछि हिजोका दिनमा स्वदेश र बिदेशमा बस्ने साथीहरू उत्साहित भएको स्मरण गर्दै मिश्रले अहिले छाडेर जाँदा त्यसमा चिसोपन आएको उल्लेख गरे।
छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको मिश्रले बताए। उनले भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ। तर त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन। तपाईहरुले बेस्कन उक्साउनु भयो भने पनि म त्यो काम गर्दिन।’
पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप सही नभएको उनले दाबी गरे।
चुनावपछि एक वर्षको अवधिमा पार्टी सञ्चालनका लागि केन्द्रीय समितिले बनाएको विधि प्रक्रियाबारे पार्टीका सदस्यलाई जानकारी गराउन नसक्नु कमजोरी भएको उनले स्वीकारे। उनले भने, ‘कुनै पनि निर्णय गर्दा विधि र प्रक्रिया मिचिएको छैन ।’
अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समीक्षा प्रतिवेदन लेखेको उनले बताए। यसका बाबजुद ३० गते सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको अवस्थामा पार्टी छाडेर जानु दुःखद भएको मिश्रको भनाई थियो। संयोजक मिश्रले विवेकशील साझा पार्टी नै रहने बताए ।