नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन्।
पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको उनले बताए ।विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको चर्चा गर्दै अध्यक्ष दाहालले अब भने एकीकृत नीतिलाइ सार्थकता दिन पहल गर्ने बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताए।
पुस्तक आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भए पनि छपाईका सामग्री आयात गर्दा बढी कर तिर्नुपर्ने अवस्था रहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको समेत बताए
विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्दै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको उल्लेख गरे ।
निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्नेछ।