नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्वले नै महाधिवेशन गराउन पाउनु पर्ने भन्दै लविङ सुरु भएको छ।
सभापति शेरबहादुर देउवा निकट नेविसंघका उपाध्यक्षसहित ७ पदाधिकारीले राजीनामा दिएको विषय सेलाउन नपाउँदै नेविसंघको अर्को समूहले वर्तमान कार्यसमितिले नै महाधिवेशन गराउनु पर्ने भन्दै लविङ थालेकाे हाे। नेविसंघको महाधिवेशन पुस २७–२९ का लागि तोकिए पनि अधिवेशन हुन नसकेको भन्दै सभापति देउवा निकट केही पदाधिकारीले उनलाई भेटेरै राजीनामा बुझाएका थिए।
उनीहरुले अध्यक्ष नैनसिंह महर महाधिवेशन गराउनेभन्दा पनि कार्यकाल बढाउनेतिर केन्द्रीय रहेको आरोप लगाउँदै देउवालाई राजीनामाको पत्र बुझाएका थिए। तर, देउवानिकट नेविसंघका ७ पदाधिकारीले राजीनामाको पत्र बुझाएको चर्चा सेलाउन नपाउँदै सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकटका केही विद्यार्थी नेताहरुले वर्तमान कार्यसमितिले नै महाधिवेशन गर्न सक्ने भन्दै त्यसका लागि समय दिन आग्रह गरेका हुन्। तर, नेविसंघकै अर्काे समूह वर्तमान कार्यसमितिले महाधिवेशन गर्न नसक्ने भन्दै तत्काल विघटन गर्नु पर्ने पक्षमा सक्रिय छ।
आइतबार बिहान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा सभापति देउवा निवास पुगेका विद्यार्थी नेताहरुले अहिलेसम्म १४ जिल्लामा अधिवेशन भइसकेको र बाँकी ३०–४० जिल्लामा अधिवेशनको तयारी भइरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका हुन्। उनीहरुले जिल्ला अधिवेशन विथोल्न संस्थापन पक्षकै केही विद्यार्थी नेताहरु लागेको सभापति देउवालाई जानकारीसमेत गराएका थिए।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले आफूहरुले अधिवेशनका विषयमा सभापति देउवालाई जानकारी गराएको बताए। उनले भने,‘हामीले सभापति देउवालाई अधिवेशनका विषयमा ब्रिफिङ गर्यौं। र, अधिवेशन तयारी भइरहेका जिल्लाका विषयमा पनि जानकारी गरायौं। सभापतिले अधिवेशन नरोक्न भन्नु भएको छ।’
भट्टका अनुसार नेविसंघ नेताहरुले माघ २ पछिको नेविसंघको अवस्थाबारे पनि सभापति देउवासँग जिज्ञासा राखेका थिए। त्यसको जवाफमा सभापति देउवाले अधिवेशनको कामलाई निरन्तरता दिन निर्देशन दिएका थिए। सभापति देउवाले नेविसंघ नेताहरुलाई निर्देशन दिँदै भने–अधिवेशनको काम नरोक्नुस्। नेविसंघका विषयमा माघ १० गते बस्ने बैठकले अन्तिम निर्णय गर्छ।
सभापति देउवाले माघ १० गतेसम्मको काम हेरेर पार्टीले आवश्यक निर्णय लिने समेत बताएका थिए। सभापति देउवाले माघ २ पछिको अस्थिरताका विषयमा पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने पनि बताएको केन्द्रीय सदस्य भट्टले बताए।
सभापति देउवालाई उनी निकटकै नेविसंघका नेताहरुले वर्तमान कार्यसमिति भंग गरेर अर्को समिति बनाउन दबाब दिइरहेका बेला महामन्त्री काफ्लेको नेतृत्वमा गएको विद्यार्थीको समूहले महाधिवेशन आफूहरुले नै सम्पन्न गर्न पाउनु पर्ने बताएको हो। काफ्लेको नेतृत्वमा गएको नेविसंघको टोलीमा देउवानिकट मानिने उपाध्यक्ष पवन यादव, पौडेलनिकट मानिने उपाध्यक्ष सागर परियार र सहमहामन्त्री प्रकाश राना पनि सहभागी थिए। नेविसंघको वर्तमान समितिले नै महाधिवेशन गराउन पाउने विषयमा अध्यक्ष महर र महामन्त्री काफ्ले एक ठाउँमा उभिएका छन् भने देउवा पक्षकै महामन्त्री सरोज थापालगायतको समूह वर्तमान कार्यसमिति भंग गर्नु पर्ने पक्षमा छन्।
सभापति देउवासमक्ष राजीनामा बुझाएका उपाध्यक्ष पुष्पराज शाही भने जति म्याद थप गरेपनि वर्तमान समितिले अधिवेशन गर्न नसक्ने बताउँछन्। उनले भने,‘ हाम्रो पदावधि पूरा भइसकेको छ। विधान अनुसार तीन महिना म्याद थप गरेका थियाैं। तर, त्यो समयमा पनि अधिवेशन हुन सकेन। पछि पार्टीले विशेष कारण भन्दै तीन महिना थप गरिदियो। यो समयमा पनि अधिवेशन हुन सकेन। अब जति समय थपेपनि याे समितिले अधिवेशन गर्न सक्दैन।’
शाहीले नेविसंघ अध्यक्ष नैनसिंह महरा लगायतका नेताहरु आफ्नो कार्यकाल बढाउन लागि परेको पनि आरोप लगाए। ‘अध्यक्ष महरजी अधिवेशन गर्ने भन्दा पनि आफ्नो कार्यकाल बढाउनेतिर लाग्नु भएको छ। त्यसैले हामी त्यसकाे विपक्षमा उभिएका हाैं,’ उपाध्यक्ष शाहीले भने।
यसअघि शुक्रबार बिहान महामन्त्री सरोज थापासहित उपाध्यक्षत्रय पुष्पराज शाही, विकास केसी र सञ्जय यादव, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेमराज जोशीले सभापति देउवालाई भेटेर राजीनामा बुझाएका थिए।
गत असारमै सकिएको नेविसंघको कार्यकाल विधान अनुसार तीन महिना पहिलो पटक थपिएको थियो भने पछि विशेष कारण भन्दै कांग्रेसले तीन महिना समयावधि थपिदिएको थियो। तर, थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि नेविसंघको एउटा समूह यही समितिले महाधिवेशन गराउन पाउनु पर्ने भन्नेमा छन् भने अर्को समूह तत्काल भंग गरेर नयाँ समिति बनाउनु पने पक्षमा लविङ छ। कांग्रेसले पछिल्लो पटक थपिदिएको दुई महिनाको समय माघ २ गते सकिँदैछ।
याे पनि पढ्नुस्: