कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघका जिल्ला अधिवेशनको काम नरोक्न नेविसंघका नेताहरुलाई निर्देशन दिएका छन्।
आइतबार बिहान महामन्त्री कन्दनराज काफ्लेको नेतृत्वमा बुढानिलकण्ठ पुगेका विद्यार्थी नेताहरुसँगको भेटमा सभापति देउवाले जिल्ला अधिवेशनलाई निरन्तरता दिन निर्देशन दिएका हुन्। सभापति देउवाको भनाइ उदृत गर्दै नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले भने,‘मैले अधिवेशनको काम रोक्न भनेको छु र? अधिवेशनको तयारीमा तपाईँहरु गरिराख्नुस्, नरोक्नुस्। हामी बाँकी निर्णय लिन्छौं।’
सभापति देउवाले नेविसंघका विषयमा माघ १० गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले अन्तिम निर्णय लिन जानकारी गराएको केन्द्रीय सदस्य भट्टले बताए। सभापति देउवाले नेविसंघको माघ १० गतेसम्मको काम हेरेर पार्टीले आवश्यक निर्णय लिने पनि बताएका थिए।
नेविसंघको पछिल्लो पटक थपिएको कार्यकाल पनि माघ २ गते सकिँदैछ। म्याद सकिन थालेपछि महामन्त्री काफ्लेको नेतृत्वमा विद्यार्थी नेताहरु महाधिवेशनका लागि थप समय आवश्यक पर्ने भएकाले थपका लागि सभापति देउवालाई आग्रह गर्न बुढानिलकण्ठ पुगेको थियो।
सभापति देउवालाई भेट्न महामन्त्री काफ्लेको नेतृत्वमा देउवानिकट मानिने नेविसंघ उपाध्यक्ष पवन यादव, वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिने उपाध्यक्ष सागर परियार र सहमहामन्त्री प्रकाश राना, केन्द्रीय सदस्यहरु सुशील भट्टलगायत नेताहरु पुगेका थिए।