कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताएका छन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार आयोजना गरेकाे मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रियामा उनले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भइ संविधानबमोजिम मौलिक हकलगायत ३३९ वटा कानून बनाइसकेको जानकारी दिए।
कानूनको पालना गराउन सशक्त योजना बनाइ गाउँपालिका र नगरपालिका तहसम्म कानून साक्षर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रदेश नम्बर १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले यस प्रदेशले २४ वटा कानून पारित गरिसकेको र यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक निर्देशिका तथा कार्यविधि बनाइने बताए।
प्रदेश नं १ का महान्यायाधिवक्ता चुडामणि आचार्यले कानून पालना गराउन सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। विराटनगर उच्च बारका अध्यक्ष रामप्रसाद भण्डारीले सरकाले बनाएका कानूनका विषयमा आम नागरिकले थाहा पाउन कानूनी साक्षता अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले कानूनलाई व्यावहारिक रुपमा उतार्न सुझाव सङ्कलन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे।